क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा विगत केही सातादेखि लागेको आगो फेरि एकपटक चर्किएको छ। यस पटक लस एन्जलसको उत्तरी क्षेत्र ह्युजमा आगलागी भएको हो। बुधबारको आगलागीले करिब १०,००० एकड क्षेत्रफल जलेको छ। आगलागीका कारण ५०,००० मानिसलाई घर छाड्न भनिएको छ।
न्युयोर्क टाइम्सका अनुसार क्यास्टेक ताल नजिकको आगो निभाउन ४,००० फायर फाइटर खटिएका छन्। यहाँ ४८ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।
सीएनएनका अनुसार, आगो यति छिटो फैलिरहेको छ कि यसले हरेक ३ सेकेन्डमा फुटबल मैदान बराबरको क्षेत्र जलिरहेको छ। स्याटेलाइट डाटाका अनुसार बुधबार स्थानीय समय अनुसार बिहान १०:४५ बजे क्यास्टेक ताल नजिक उक्त हटस्पट पत्ता लागेको हो। यसअघि, जनवरी ७ मा लस एन्जलस वरपरको दक्षिणी जंगलमा आगलागी भएको थियो, जसमा २५ जनाको ज्यान गएको थियो।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार

