२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

विमान अवतरण गर्न नदिएपछि ट्रम्प कोलम्बियाप्रति आक्रोशित, बढाए २५ प्रतिशत भन्सार शुल्क

Trump Furious with Colombia After Denying Aircraft Landing, Increases Tariff by 25%

काठमाडौं । आफ्ना नागरिकमाथि अपराधिको जस्तो व्यवहार गरेको भन्दै कोलम्बियाका राष्ट्रपति गुस्टाभो पेट्रोले देश निकाला गरिएका आप्रवासी बोकेका दुई अमेरिकी सैन्य विमानलाई कोलम्बियामा अवतरण गर्न रोक लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित भएका छन्।

ट्रम्पले तत्काल कोलम्बियामाथि २५% शुल्क र प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। ट्रम्पले भने, ‘कोलम्बियाबाट आउने सम्पूर्ण सामान माथि तुरुन्तै २५% शुल्क लागू गरिने छ, र एक हप्ताभित्र यो शुल्क बढाएर ५०% पुर्‍याइने छ।’

यसको जवाफमा, कोलम्बियाका राष्ट्रपति पेट्रोले पनि अमेरिकी सामानमाथि २५% प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेका छन्। आइतबार गुस्टाभो पेट्रोले अमेरिकाले सैन्य विमानमार्फत देश निकाला उडानलाई देशमा प्रवेश दिन अस्वीकार गरेको जानकारी दिएका थिए। उनले भने, ‘हामी हाम्रा नागरिकलाई अपराधीझैं व्यवहार गरेको स्विकार गर्न सक्दैनौं। उनीहरुलाई नागरिक विमानमार्फत् ल्याउनु पर्छ र आप्रवासीलाई इज्जत र सम्मानका साथ फर्काउनु पर्छ।’

अमेरिकी अधिकारीहरूले सिबिएस न्यूजलाई दिएको जानकारी अनुसार, आइतबार सान डिएगोबाट कोलम्बिया जान लागेका आप्रवासीहरू बोकेका दुई सैन्य विमान अवतरण गर्ने अनुमति नभएपछि रद्द गरियो। यसको जवाफमा, ट्रम्पले उनको सामाजिक सञ्जाल ट्रुथसोसलमा ‘तात्कालिक र निर्णायक प्रतिशोधात्मक कदमहरु’ घोषणा गरे। उनले कोलम्बियाली सरकारी अधिकारीहरू, तिनका सहयोगी र समर्थकहरूका लागि यात्रा प्रतिबन्ध र ‘तुरुन्तै भिसा रद्द’ हुने बताए।

ट्रम्पले कोलम्बियाली सरकारका समर्थकहरूका लागि पनि भिसा प्रतिबन्ध लगाइने र भन्सार तथा सीमा सुरक्षा जाँचहरू ‘राष्ट्रिय सुरक्षाका कारण’ कोलम्बियाली नागरिक र मालसामानमा कडा बनाइने उल्लेख गरे। ‘यी कदमहरू सुरुवात मात्र हुन्’ ट्रम्पले थपे। उनले आफ्नो प्रशासनले कोलम्बियाली सरकारलाई ‘तिनीहरूले अमेरिका पठाएका अपराधीहरूलाई स्वीकार्न र फर्काउन कानूनी जिम्मेवारी तोड्न दिने छैन,’उनले भने।

राष्ट्रपति गुस्ताभो पेट्रोले ट्विटरमा प्रतिक्रिया जनाउँदै आफ्ना शुल्कहरू घोषणा गरे र कोलम्बियाली विरासत तथा सहनशीलताको प्रशंसा गरे। ‘तपाईंको नाकाबन्दीले मलाई तर्साउन सक्दैन, किनभने कोलम्बिया सौन्दर्यको देश मात्र होइन, यो संसारको मुटु हो।’ उनले भने।

पेट्रो ले अमेरिका बाट पठाइएका देश निकाला गरिएका व्यक्तिहरूलाई ‘सम्मानजनक रूपमा फिर्ता’ ल्याउन आफ्नो राष्ट्रपति विमान उपलब्ध गराउने प्रस्ताव पनि गरे। आइतबार नै पेट्रोले १५,६६६ भन्दा बढी अमेरिकीहरू कोलम्बियामा अवैध रूपमा बसेको दाबी गरे, तर यो तथ्यलाई स्वतन्त्र रूपमा पुष्टि हुन भने सकेको छैन्। पेट्रोले भने, ट्रम्प प्रशासनले जस्तै आफूले अवैध अमेरिकी आप्रवासीहरूलाई फिर्ता पठाउन छापा मार्ने काम कहिलेही नगर्ने समेत बताए।

 

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस