२७ वर्षपछि दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) पुनरागमन गर्दैछ। निर्वाचन आयोगका अनुसार भाजपाले १३ सिट जितिसकेको छ र ३४ सिटमा अग्रता लिइरहेको छ, जसअनुसार कुल ४७ सिट पाउने सम्भावना छ। आम आदमी पार्टी (आप) ले ११ सिट जितेर १२ सिटमा अगाडि छ, कुल २३ सिट। कांग्रेसले यस पटक पनि खाता खोल्न सकेन।
यो परिणामसँगै दिल्लीमा ठूलो राजनीतिक उलटफेर भएको छ। आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल आफ्नै क्षेत्र नयाँ दिल्लीबाट पराजित भए भने सिसोदियाले जंगपुराबाट हार बेहोरे। यद्यपि, मुख्यमन्त्री आतिशीले कालकाजी सिटबाट जित निकालेकी छिन्। सत्येन्द्र जैन पनि पराजित भए।
हारपछि केजरीवालले भाजपालाई बधाई दिँदै भने, “हामी हार स्वीकार गर्छौं। जनताले बहुमत दिएका छन्। आशा छ कि भाजपा जनताको अपेक्षा पूरा गर्छ।” उनले शिक्षा, पानी, र बिजुली क्षेत्रमा आपले गरेका कामहरूको चर्चा गर्दै भने, “हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्नेछौं।”
दिल्ली भाजपा मुख्यालयमा विजय उत्सव मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदी साँझ पार्टी मुख्यालय पुगेर कार्यकर्ताहरूमाझ सम्बोधन गर्ने कार्यक्रम छ। यसैबीच, केजरीवाललाई पराजित गर्ने भाजपा उम्मेदवार प्रवेश वर्माले अमित शाहसँग भेट गरेका छन्।
२०१५ को चुनावमा झण्डै सबै सिट जितेको आपले २०२० मा पनि ६२ सिट जितेको थियो। तर, यो पटक आपले ३९ सिट गुमायो, जबकि भाजपाले ३९ सिट थप्यो। भाजपाले आफ्नो भोट शेयर ९% ले बढायो भने आपको भोट प्रतिशत १०% घट्यो। कांग्रेस भने यस पटक पनि शून्यमै सीमित रह्यो, तर भोट प्रतिशत २% ले बढायो।
२०२० मा केवल ८ सिटमा सीमित भएको भाजपाले यसपालि ६ गुणा बढी सिट जित्दै सानदार पुनरागमन गरेको छ। चुनावी इतिहासमा पहिलो पटक केजरीवालको नयाँ दिल्ली सिटका २० उम्मेदवारले आफ्नो जमानत जफत गरे, जसले गर्दा यो चुनाव दिल्लीको राजनीतिक समीकरणमा महत्वपूर्ण मोड सावित भएको छ।

