२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

२० हजार नेपाली ‘हेल्थ केयर’मा जापान जान पाउने

१ फागुन , काठमाडौँ । जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ । नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल-जापान सेवा आदान प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो ।

कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाइ कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए । जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ ।

१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन् । जापानको केयरगिभिङ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन । जापानी भाषाको आधारभूत ज्ञान एनफोर लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू जापानको केयरगिभिङ क्षेत्रमा जान पाउनेछन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस