प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र जवाफदेही बनाउँदै असमानता, गरिबी र भ्रष्टाचारको चुनौती चिरेर अघि बढ्ने बताउनुभएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा सम्बोधन गर्दै उहाँले युवाहरुलाई सशक्त बनाएर समृद्ध नेपाल निर्माण गर्ने सरकारको नीति स्पष्ट पार्नुभयो।
प्रधानमन्त्रीले डिजिटल माध्यमबाट नागरिकलाई शीघ्र सेवा प्रदान गर्न थालेको उल्लेख गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सन् २०२६ सम्म नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गराउने योजना रहेको बताउँदै उहाँले लोकतन्त्रकै कारण आर्थिक सूचक सुधार भएको उल्लेख गर्नुभयो।
उहाँले युवा पुस्तालाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलताको अवसर उपलब्ध गराउने सरकारको प्राथमिकता रहेको बताउनुभयो। सुशासन, विकास, समृद्धि र जनताको सुखका लागि प्रभावकारी शासन प्रणाली आवश्यक रहेको उहाँको भनाइ छ।
प्रधानमन्त्रीले जहानियाँ शासनले आफ्ना सन्तानका लागि दरबार बनाएको तर लोकतन्त्रले जनताको लागि सडक, पुल, अस्पताल, विद्यालय निर्माण गरेको बताउनुभयो। फागुन ७ लाई ऐतिहासिक सङ्घर्षको प्रतीक भन्दै उहाँले सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो।

