२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

स्याउ रोप्न जुम्ला पुगे विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” स्याउँ रोप्न जुम्ला पुगेका छन्। जुम्ला सदरमुकामदेखि हिँडेर एक दिन लाग्ने हिमा गाउँपालिका ७ धाचुमा स्याउँ रोप्न आएका विप्लवलाई नेकपा जुम्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताले बाजागाजा र फूलमालाले स्वागत गरेका छन्। चार दिनदेखि चलिरहेको पार्टीको स्कुलिङ्ग तथा स्याउ रोप्ने कार्यक्रमका लागि नेकपाका महासचिव विप्लव सहितको टोली जुम्ला पुगेको छ।

नेकपाका जुम्ला जिल्ला इन्चार्ज विर्खबहादुर शाही ‘प्रभाजित’ का अनुसार महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, महासचिव विप्लवको जीवन सङ्गीनी सहितको टिम जुम्ला पुगेको हो।नागरिकको स्वागत कार्यक्रममा संक्षिप्त कुरा राख्दै महासचिव विप्लवले जनतालाई कृषिमा आत्मनिर्भर बनाउन जुम्लामा स्याउँ रोप्न आएको बताए।

विप्लवले नेकपाले काठमाडौँमा सुरु गरेको सि व्यापार केन्द्रमा जुम्लाको अर्गानिक खाद्यन्नले बजार पाएको बताए । उनले जुम्लाको स्याउ मात्र नभएर मार्सी चामल, कोदो र फापरको नेकपाले खोलेको सी व्यापार केन्द्र काठमाडौँमा अत्याधिक माग भएको जानकारी दिए।

विप्लवले कृषि उत्पादनले नै देशलाई आत्मनिर्भर बनाउने भएकाले सबैलाई कृषि उत्पादनमा लाग्न आग्रह गरे। विप्लवले जुम्ली जनतालाई परिवर्तन र पार्टीको उत्पादनको योजनामा साथ दिन अपिल गर्दै न्यानो माया दिएर स्वागत गर्ने जनतालाई विशेष धन्यवाद ज्ञापन गरे।

नेकपाको केन्द्रीय उत्पादन विभागको आयोजनामा जुम्लामा आइतबार करिब एक हजार बढी स्याउँको बोट रोप्ने कार्यक्रम रहेको नेकपा जुम्लाले जनाएको छ।यसैगरी सो क्षेत्रमा चार दिनदेखि नेकपाको स्कुलिङ्ग चलिरहेको छ।

जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीका अनुसार धाचु गाउँमा पार्टीको स्कुलिङ चलिरहेको हो।कार्यक्रममा प्रदेश इन्चार्ज कर्णजित बुढाथोकी, स्कुलिङ विभाग प्रमुख भेसराज भुसाल, स्थायी कमिटी सदस्य भरत वम लगायतका नेताले प्रशिक्षण गरिरहनु भएको छ। स्कुलिङमा महासचिव विप्लवले समेत सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस