काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा साँझ ७ बजेदेखि विशेष पूजा सुरु हुनेछ। पशुपति क्षेत्र विकास कोषका अनुसार, १५,१०० रुपैयाँ तिरे विशेष पूजा गर्ने भक्तजनलाई लाइन बस्नु नपर्ने सुविधा दिइएको छ।
यस वर्ष विशेष पूजाका अन्य प्रकार हटाएर पञ्चामृत विशेष पूजा मात्र राखिएको छ। १५ हजार १ सयभन्दा बढी दान गर्नेले लाखबत्ती बाल्न सक्नेछन्।
विशेष पूजाका लागि पशुपति पश्चिमपट्टि रहेको एसबीआई बैंकमा भौचर काटेर बुझाउनुपर्नेछ। पूजामा अधिकतम २०० जनाले मात्र भाग लिन पाउने व्यवस्था मिलाइएको छ।
शिवरात्रिमा भक्तजनलाई डिजिटल वालेट [ई-सेवा, मोबाइल बैंकिङ] मार्फत भेटी चढाउने सुविधा समेत दिइएको छ। दर्शन व्यवस्थापन, सुरक्षा, सफाइ, आवास, भोजन र धुनी व्यवस्थापनका लागि समितिहरू गठन भइसकेका छन्। पशुपतिमा फागुन १४ गते बिहान २स्३० बजेदेखि १५ गते साँझ ६ बजेसम्म पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ।

