२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

नेपाल र भारतबीच वास क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

१९ फागुन , काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता वास क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर रेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौतापत्रको लक्ष्य छ ।’

भारत र नेपाल दुवै देशहरूबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवद्र्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य लिइएको छ । सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदानप्रदान, बर्सातको पानी संकलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस