२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

‘हामीलाई कसैको अनावश्यक विरोधसँग मतलव छैन’ : प्रधानमन्त्री ओली

२० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नर्सहरुले पनि न्यूनतम् तलव पाइरहेका छैनन् भन्ने सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाउन नपाइने बताए ।

श्रमिकको मन प्रसन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरु रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन् । हामीहरु जेल गएका थियौँ तर हाम्रा उद्देश्यहरु जेल गएका थिएनन् ।’

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘अब हामी परिवर्तनको मर्म अनुसार अघि बढ्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार संवादका माध्यमबाट सरकार, रोजगारदाता र श्रमिकलाई विन विन अवस्थामा ल्याउन सक्नुपर्छ । सरकारले तटस्थ बसेर निष्पक्ष निष्कर्ष निकाल्नु पर्छ ।’ उनले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्नेविरुद्ध भ्रम र अवरोध सिर्जना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग्रह गर्दै व्यवस्था परिवर्तनपछि विकासको क्रम बढेको स्पष्ट गरे ।

‘हामीलाई कसैको अनावश्यक विरोधसँग मतलव छैन । नचाहिने प्रदूषित कुरा हामी बोकेर हिंड्दैनौं । हामीलाई देशको विकास र परिवर्तन गर्नुछ । विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफै सेलाएर जान्छ । यसमा मजदूर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस