२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आगामी आर्थिक वर्षमा बजेट घाटा साढे ६ खर्ब पुग्ने !

२० फागुन , काठमाण्डौँ ।  राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८२/८३ मा साढे छ खर्ब रुपैयाँ घाटा बजेट ल्याउन सकिने गरी स्रोतको सीमा (सिलिङ) निर्धारण गरेको छ । आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६५ करोड रुपैयाँको बजेट ‘सिलिङ’ निर्धारण गर्दा आन्तरिक राजस्वबाट १२ खर्ब ६३ अर्ब १० करोड रुपैयाँ मात्र प्राप्त हुने अनुमान गरिएको छ ।

निर्धारण भएको सिलिङअनुसार बजेट ल्याउँदा ६ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ स्रोत अपुग हुने भएको छ । यस्तो अपुग रकमलाई आन्तरिक तथा बाह्य ऋण र अनुदानमार्फत पूर्ति गरिनेछ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अनुपातमा सार्वजनिक ऋण बर्सेनि बढ्दै जानु, ऋणको साँवाब्याज भुक्तानीका लागि ठूलो रकम खर्च हुनु, ऋण लिएको रकम पुँजी निर्माणमा भन्दा चालु प्रकृतिका कार्यमा जानुलाई चुनौतीका रुपमा हेर्ने गरिन्छ ।

स्रोत अनुमान समितिले निर्धारण गरेको सीमाअनुसार बजेट आउने हो र सोही अनुसार खर्च पनि हुने हो भने आगामी आर्थिक वर्षमा मात्र मुलुकलाई ६ खर्ब रुपैयाँ ऋण थपिने अवस्था देखिएको छ । यद्यपि योजना आयोगले बजेटको सीमा निर्धारण गरे पनि सरकारले त्यो भन्दा ठूलो आकारको बजेट ल्याउने गरेको छ ।

ठूलो आकारको बजेट ल्याउन ऋणलाई स्रोतका रुपमा देखाउने तर आन्तरिक राजस्व भने बढ्न नसक्ने स्थिति हरेक वर्ष आउने गरेको छ । आगामी आर्थिक वर्षको सरकारी राजस्व वृद्धिको अनुमान हेर्ने हो भने चालु आर्थिक वर्षको बजेटमा राखिएको लक्ष्यकै हाराहारीमा छ । यद्यपि, चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा १० दशमलव तीन प्रतिशतले आन्तरिक राजस्व प्राप्ति बढ्ने आँकलन स्रोत अनुमान समितिले गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस