२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

अन्तत: पश्चाताप गर्दै जेलेन्स्कीले लेखे__’सम्झौतामा हस्ताक्षर गर्न तयार छु’

२१ फागुन, काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो देशले अहिलेसम्म अमेरिकाबाट पाएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा लामो पोस्ट गर्दै जेलेन्स्कीले युद्ध र शान्तिका साथै युक्रेनमा अमेरिकाको महत्त्व उल्लेख गरेका हुन् । जेलेन्स्कीले लेखेका छन्, ‘म शान्तिप्रति युक्रेनको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु । हामीमध्ये कोही पनि कहिल्यै अन्त्य नहुने युद्ध चाहँदैनौँ । युक्रेन दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार छ ।’ उनले अगाडि लेखेका छन्, ‘मेरो टोली र म दिगो शान्ति प्राप्त गर्न राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार छौँ। संयुक्त राज्य अमेरिकाले युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता कायम राख्न कति धेरै मद्दत गरेको छ भन्ने कुराको हामी साँच्चै कदर गर्छौं ।’

गत हप्ता शुक्रबार ९फागुन १६ गते० खनिज सम्झौताका लागि भनेर ह्वाइट हाउस पुगेका जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग बाझेर फर्किएका थिए। यसका लागि जेलेन्स्कीले आफ्नो देशमा समर्थनका साथै विरोधको पनि सामना गर्नु परेको थियो । जेलेन्स्कीले आफ्नो पोस्टमा लेखेका छन्, ‘शुक्रबार वासिङटनको ह्वाइट हाउसमा भएको हाम्रो बैठक जसरी हुनुपर्ने थियो त्यसरी भएन। यो दुःखको कुरा हो । अब हामीले चिजहरू ठीक गर्ने समय आएको छ । खनिज र सुरक्षासम्बन्धी सम्झौताका सन्दर्भमा युक्रेन कुनै पनि समय सुविधाजनक ढाँचामा हस्ताक्षर गर्न तयार छ।’
मंगलबार मात्रै अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराइरहेको सैन्य सहयोग पनि रोकेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस