२३ फागुन, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अहिले कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको उनले बताए ।
दुई दिनदेखि बिग्रिएको मौसम शनिबारदेखि सुधार हुँदै जानेछ ।
प्रिमनसुनी गतिविधि सक्रिय भएको जनाउँदै उनले पश्चिमी न्यूनचापीय प्रणालीको समान्य प्रभावका साथै स्थानीय वायुको सामान्य प्रभावले बदली र केही स्थानमा वर्षा गराएको उल्लेख गरे । महाशाखाका अनुसार बिहिबार र आज काठमाडौंको आकाश सामान्यतया बदली रहेको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

