२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पूर्वराजालाई विमानस्थलदेखि निर्मल निवाससम्म स्वागत गरिदैं, राजधानीको सुरक्षा व्यवस्था कडा !

२५ फागुन , काठमाडौँ । झण्डै २ महिना लामो गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्म ¥याली निकाल्ने तयारी छ । विमानस्थलमा भव्य स्वागतपछि पूर्वराजा ज्ञानेन्द्र सवार गाडीसँगै कार्यकर्ताले मोटरसाइकल ¥याली गर्ने तयारी रहेको छ। उनीहरूले नारायणहिटी दरबारमा समेत ¥याली गर्ने तयारी गरेको छ ।

पूर्वघोषित कार्यक्रमअनुसार आज राप्रपाले शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको भएता पनि बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले उक्त कार्यक्रम स्थगित गरी पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने कार्यक्रम राखेको हो। राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विमानस्थलदेखि निर्मल निवाससम्म गौशाला, चावहिल, महाराजगञ्ज जुन स्थानमा पायक पर्छ, त्यहाँ नेपालको झण्डासहित अनिवार्य रूपमा भेला भएर पूर्वराजालाई स्वागत गर्न उर्दी जारी गरेको छ ।

पूर्वराजालाई स्वागत गर्न राप्रपासँगै दुर्गा प्रसाईंको अभियान र विश्वहिन्दु महासंघ, शिवसेना नेपाललगायत आधा दर्जनबढी संघसंस्थाका टोली परिचालन हुनेछन् । राप्रपालगायत सडक आन्दोलन शुरू गरेका अन्य समूहले आज हजारौ जनता सडकमा उतार्ने जनाएका छन् ।

विमानस्थलभित्र राप्रपाका नेताहरूले स्वागत गरेर बाहिरिए पछि विभिन्न समूहले स्वागत गर्ने कार्यक्रम तय भएको छ। विश्वहिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष अस्मिता भण्डारीले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार महासंघले विमानस्थलको बाहिरी गेटमा स्वागत गर्ने कार्यक्रम छ ।

यसैबीच स्वागत ¥यालीका क्रममा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभयो। स्रोतका अनुसार आज त्रिभुवन विमानस्थल प्रवेशमा कडाइ गरिने भएको छ । विमानस्थलमा कडाइ भए विभानस्थल प्रवेशद्वारमै स्वागत गर्ने राप्रपाको तयारी छ ।

स्रोतले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार पूर्वराजा ज्ञानेन्द्र समिट एयरको विमानबाट दिउँसो साढे २ बजे काठमाडौं आउने कार्यक्रम छ । पूर्वराजासँग उहाँका निजी सचिव राजिब शाही र निजी सुरक्षाकर्मी हुनेछन्। छोरा पारस अस्वस्थ भएको कारण पूर्वराजाबाहेक परिवारका बाँकी सदस्यहरू निर्मल निवासमै छन्। केही समयदेखि पूर्वराजपरिवार समिट एयरमा यात्रा गर्न थालेका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस