काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले फागुन १२ देखि झापाबाट सुरु गरेको तराई मधेस जागरण अभियान अचानक स्थगित गरेको छ। शीर्ष नेताहरू अभियान स्थगित गरी काठमाडौँ फर्किएका छन्।
शनिबार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेपछि ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको हो। उपमहासचिव मातृका यादवका अनुसार केपी ओली नेतृत्वको सरकारका जनविरोधी गतिविधि र भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सक्रिय भएकाले संसद् र सडक संघर्षलाई बलियो बनाउन अभियान रोकिएको हो। पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न आज (आइतबार) दिउँसो ३ बजे पार्टी पदाधिकारीहरूको बैठक बोलाइएको छ।
यादवले भने, ‘केपी ओलीको जनविरोधी गतिविधिका कारण प्रतिगामी शक्तिहरू सक्रिय भएका छन्। वर्तमान सरकारकै नीति र गतिविधिले देश संकटमा पार्ने खतरा देखिएको छ। हामी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडक संघर्ष प्रभावकारी हुन सकेन। त्यसैले प्रतिगामी शक्तिविरुद्ध संघर्षलाई तीव्र बनाउन अभियानलाई नयाँ रणनीतिसहित पुनः सञ्चालन गरिनेछ।’
उनका अनुसार राजावादी गतिविधिबारे विस्तृत छलफल नभए पनि ओली सरकारको जनविरोधी नीति र कार्यशैलीविरुद्ध विपक्षी दलहरू, समाजवादी मोर्चा, र संसद् संघर्षलाई प्रभावकारी बनाउन बैठक आह्वान गरिएको छ।

