काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र पुनः फर्किन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन्। आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने स्पष्ट पारे।
गृहमन्त्री लेखकले भने, केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्। त्यस भ्रमले पूर्वराजा हौसिन आवश्यक छैन। उनले जनताले आन्दोलन र क्रान्तिबाट हटाइसकेको राजतन्त्र फिर्ता आउने सोच्नुपर्ने कुनै आधार नरहेको बताए।
उनले इतिहासमा जनताले हटाएका राजाहरू स्वतन्त्र रूपमा बस्न पाएको उदाहरण कमै रहेको भन्दै पूर्वराजा शाहलाई त्यो स्वतन्त्रता नबिर्सन आग्रह गरे। लोकतन्त्रको सहनशीलता उल्लेख गर्दै उनले भने, हाम्रो लोकतन्त्र यति संयमित र उदार छ कि जनताले फालेको राजतन्त्रका राजा पनि स्वतन्त्र रूपमा बसिरहेका छन्। यसलाई लोकतन्त्रको कमजोरीका रूपमा नलिनू।

