२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रर्दशनपछि प्रधानमन्त्रीले भने पूर्व राजालाई राजनीतिमा स्वागत गर्न तयार छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिमा स्वागत गर्न आफू तयार रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्व राजालाई राजनीतिमा स्वागत गर्न आफू तयार रहेको बताएका हुन् । ‘मलाई साथ देऊ, आउँछु । कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौँ,’ उनले भनेका छन् । आज पूर्व राजा पोखराबाट काठमाडौं आउँदा समर्थकहरुले भव्य स्वागत गरेका थिए । पूर्व राजाको चहलपहलका बीच प्रधानमन्त्रीले यस्तो बताएसगै थप गर्मागर्मी बढेको छ ।

पूर्व राजाको माग आफूले नबुझेको भन्दै माग स्पष्ट राख्न उनले सुझाएका छन् । ‘म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्व राजाको हैसियतले, पुस्तैनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढङ्गले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको ?’ ओलीले सोधेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाएका छन् । उनको अभियान मनैदेखि जनतालाई टुक्र्याउन केन्द्रित रहेको प्रधानमन्त्रीको आरोप छ । ‘फागुन ६ गते नै पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त । कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न,’ उनले भने । पूर्व राजा ज्ञानेन्द्रका क्रियाकलाप मुलुकलाई अप्ठ्यारो पार्ने उद्देश्यबाट प्रेरित रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस