२५ फागुन, काठमाण्डौँ । भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले दक्षिण भारतका जनतालाई बढी सन्तान जन्माउन प्रोत्साहित गरेपछि एक सांसदले आश्चर्यजनक प्रस्ताव राखेका छन् । मुख्यमन्त्रीको प्रोत्साहनपछि विजयनगरम लोकसभा सदस्य कालीसेट्टी अप्पाला नायडूले तेस्रो बच्चा जन्माउने महिलालाई ५० हजार भारु दिने प्रस्ताव राखेका छन् ।
उनले महिलाले छोरा जन्माए गाई पनि उपहार दिनुपर्ने पनि बताएका छन् । लोकसभा सांसदको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कालिसेट्टीले आफ्नो तलबबाट नगद प्रोत्साहन दिने बताएका हुन् । टीडीपी नेताहरूका अनुसार महिलाले यो प्रस्तावलाई क्रान्तिकारी भनेका छन्।
यससँगै मुख्यमन्त्री चन्द्रबाबु नायडूले पनि यो प्रस्ताव घोषणा गरेकोमा सांसदको प्रशंसा गरेका छन् ।
मार्चमा आफ्नो दिल्ली भ्रमणको क्रममा मुख्यमन्त्री नायडूले दक्षिण भारतमा घट्दो जनसंख्याबारे चिन्ता व्यक्त गरेका थिए । भविष्यका लागि जनसांख्यिकीय लाभांश व्यवस्थापन गर्न सके भारत र भारतीयहरू महान् हुने उनको भनाइ थियो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रकाशम जिल्लाको मरकापुरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका थिए।

