काठमाडौं । प्राध्यापक डा. युवराज सङ्ग्रौलाले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्। आइतबार काठमाडौँ स्कुल अफ लले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आरोपको सत्यतथ्य पत्ता लगाउन राज्यका निकायले अनुसन्धान गर्नुपर्नेसमेत बताएका छन्।
उनले कुनै अमुक व्यक्तिले सामाजिक सञ्जालमा अमूर्त रूपमा लेखेको विषयलाई मिडियाले समाचारको स्रोत बनाउनु आपत्तिजनक भएको बताएका छन्। ‘यदि वास्तविक पीडित छन् भने उनीहरूले राज्यको अनुसन्धान निकायमा जानुपर्छ, सामाजिक सञ्जालमा मात्र लेखेर आरोप लगाउनु उचित होइन,’ सङ्ग्रौलाले भने।
उनका अनुसार सामाजिक सञ्जालमा आधारहीन आरोपहरू मिडिया ट्रायलको रूपमा चलाइए राम्रा व्यक्तिहरू पीडित बन्नेछन्। उनले थपे, ‘मेरो ३७ वर्षको इमानदारीमा कुनै निकायले अनुसन्धान गर्छ भने म हत्कडी लगाएर जान तयार छु। तर, सामाजिक सञ्जालको आधारमा कसैलाई दोषी बनाउनु गलत हो।’
यसैबीच, काठमाडौँ स्कुल अफ लको व्यवस्थापनले आरोपको जाँचबुझ गर्न डा. श्रीकृष्ण भट्टराईको संयोजनमा पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामीसहितको समिति गठन गरेको छ।

