२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

उपत्यकामा मोही पनि ब्राण्डिङ गरि बजारमा बिक्री, ‘प्रभात मोही’ नामै काफि !

३ चैत्र, काठमाडौँ । नवप्रभात डेरी उद्योग ललितपुरले लेबलिङ र प्याकेजिङसहित मोहीको ब्रान्डिङ गरी ‘प्रभात मोही’ बजारमा ल्याएको छ। उपत्यका बाहिर विभिन्न जिल्लाहरुमा भोजभतेर, महोत्सवलगायतमा लोकप्रिय बन्दै गएको मोहीको उपत्यकामा पनि ब्रान्डिङ गरी बिक्री थालिएको हो।

नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रोडक्टस् नेपाल प्रालि काठमाडौं बिच डेड वर्ष अगाडि भएको सम्झौता अनुसार प्रत्येक शनिबार काठमाडौंको दरबारमार्ग स्थित ओरियन्ट होटलमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण हाटबजारमा प्रत्यक्ष ठेकीमा मोही तुल्याई निःशुल्क सेवन गराउँदै आएको थियो।

त्यसलाई पूर्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पशुसेवाका महानिर्देशक, राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक, सांसदहरु, समाजसेवीहरु, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु एवं मिडियाले अत्यधिक साथ दिई ठेकीमा मोही तुल्याएको कुरा ब्यापक प्रचारप्रसार भई जनमानसमा मोही सेवन गर्नुपर्छ भन्ने सन्देश गएको थियो । त्यसैको प्रभाव स्वरुप उपत्यका बाहिरका जिल्लाहरुमा सफलताकासाथ एक दर्जन जति डेरी उद्योगले लेबलिङ प्याकेजिङ गरि बजारमा मोही बिक्री गर्न थालेका हुन् ।

उपत्यका एवं बाहिर जताततै त्यसैको प्रभावमा भोज, भत्तेर, पार्टी शुभकार्यमा अन्य पेय पदार्थसँगै मोहीले पनि प्राथमिकता पाउन थाल्यो । बाहिर जिल्लाहरुमा मात्र लेबलिङ र प्याकेजिङ गरि मोही बिक्री वितरण भइरहेको अवस्थामा उपत्यकाबाट पनि अब नवप्रभात डेरी उद्योग ललितपुरले लेबलिङ र प्याकेजिङमा प्रभात मोही भनी सुरुवात गरेको छ ।

चैत २ गते शनिबार दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारको ओरियन्ट होटलबाट उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता एवं उद्योग उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत, केन्द्रिय सदस्य पशुपतिदेव पाण्डे, कमला श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, केन्द्रिय सदस्य शिव घिमिरे, केन्द्रिय पदाधिकारी, बागमती प्रदेशका पदाधिकारी, नुवाकोटका अध्यक्ष दिपक ढुंगाना एवं पदाधिकारी साथै डेरी उद्यमीहरुको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष एवं मोही अभियानका प्रमुख ब्याक्तित्व प्रल्हाद दाहालले एउटा ठूलो सपना मोहीलाई ब्राण्डिङ गरि हरेक उपभोक्ताको हात हातमा पुर्‍याउने लक्ष्य पूरा भएको बताउँदै सबैलाई ढुक्क भएर बजारमा उपलब्ध मोही उपभोग गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस