२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बस दुर्घटना, १४ जना घाइते

काठमाडौं । घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाका अनुसार अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।

तुलसीपुर–१७ र १८ को सीमाना नजिकै बेलझुण्डीमा सोही दिशाबाट आउँदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकलले बसलाई ओभरटेक गरी एक्कासी मोड्दा बस अनियन्त्रित भई सडक किनारमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी १४ जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर छ। अन्य घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस