२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रचण्डले राजावादीलाई सम्झाए कोत पर्वदेखि वेश्यालयसम्म राजाको कालो इतिहास

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजावादीहरुले गरिरहेको गतिविधि संविधानविपरीत भएको दाबी गरेका छन्। राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई फेरि रैती बनाउने र अधिकार खोस्नेतर्फ केन्द्रित रहेको बताए।

प्रचण्डले युवाहरुलाई हिजो के भएको थियो भन्ने कुरा राम्रोसँग बुझाउनुपर्ने बताए। उनले भने, ‘कोत पर्व के थियो? भण्डारखाल ककसको झगडाले भएको हो? त्यहाँ सयौं भारदारहरुको कत्लेआम कसरी गरिएको थियो? नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारिया राजाहरुले कसरी गरेका थिए?’

उनले युवाहरुलाई सोध्नुपर्ने प्रश्न उठाए, ‘विदेशीको चाकडी कसरी गरेका थिए? हिजोका राजा र महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए? यही अस्ति भर्खरै कलकत्तामा बेइज्जत गरेर जवहारलाल नेहरूले त तिमीहरुको राजाले बेइज्जत नै ग¥यो, छिटो फर्काउ भन्नपर्ने स्थिति आएको थियो।’

प्रचण्डले राजावादीहरुको प्रदर्शनलाई संविधान विपरीतको कार्य भनेका छन्। उनले भने, ‘राजनीतिक सिस्टम परिवर्तन गर्न सकिन्छ, तर राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता परिवर्तन गर्न सकिँदैन। जनतामा गएको सार्वभौम सत्ता फेरि खोस्नको प्रयास कदापि सफल हुन दिइने छैन।’

उनले थपे, ‘हामीले हाम्रो छोराछोरीलाई हिजो के भएको थियो भन्ने कुरा बुझाउनुपर्छ, र हामी त्यो कालो इतिहासलाई पुनः फर्कन दिन्नौँ।’

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस