२०८३ जेष्ठ २३ गते शनिवार | 2026 June 6th Saturday

किसानलाई उन्नत जातका राँगा वितरण !

५ चैत्र, काठमाण्डौँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम सुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार बनाउँदै नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले यस वर्ष ६२ लाख बराबरको राँगा वितरण कार्यक्रम सुरु गरिएको हो ।

नगरपालिकाको घोषित कार्यक्रमअन्तर्गत तराईका फार्मबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगा कृषक समूहमार्फत किसानलाई वितरण गर्न सुरु गरिएको नगर उपप्रमुख विशन राईले बताए । १५ वडा रहेको यस नगरपालिकाको वडा नम्बर ३ बाम्राङमा १६ लाख, वडा नम्बर ४ खाल्लेमा सात लाख, वडा नम्बर ५ लफ्याङमा १२ लाख, वडा नम्बर ७ दोर्पामा तीन लाख र वडा नम्बर १५ विजयखर्कमा आठ लाख ५० हजार बराबरको राँगा वितरण गरिसकिएको छ । उक्त वडामा बाँकी रकमको समेत राँगा खरिद गरेर किसानलाई वितरण गरिने उपप्रमुख राईले जानकारी दिए ।

राँगा खरिद गरिएको कुल मूल्यको २५ प्रतिशत मूल्य किसान स्वयंले भुक्तानी गर्नेगरी राँगा वितरण कार्यक्रम तय गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैँले खरिद–ढुवानी तथा वितरण गर्ने गरिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस