काठमाडौं । काठमाडौंको टोखाबाट सोमबार राति २५ करोड १९ लाख रुपैयाँभन्दा बढीको डलर र युरो बरामद भएपछि स्रोतबारे प्रश्न उठेको छ। प्रारम्भिक अनुसन्धानअनुसार सुन किन्न पठाउन लागिएको अनुमान गरिए पनि यति धेरै रकम कसरी संकलन भयो भन्ने अझै स्पष्ट भएको छैन।
यो प्रकरणमा कुसाङ लामा पक्राउ परेका छन्। उनी ५ वर्षअघि ७ किलो अवैध सुन तस्करीको आरोपमा पक्राउ परेका थिए र २०७८ पुसमा जेलमुक्त भएका थिए। यसअघि पनि उनी भरिया मात्र रहेको देखिए पनि सुनको मालिक पत्ता लागेको थिएन।
प्रहरीले यी विदेशी मुद्रा नेपाली बजारबाटै संकलन गरिएको हो कि भारतबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ। साथै, अवैध सुन बेचेर भारतीय व्यापारीबाट पाइएको रकम हुन सक्ने आशंकामा समेत अनुसन्धान जारी छ।
बरामद रकम एउटा ट्रकभित्र फल्स बटम बनाएर लुकाइएको थियो। उक्त ट्रक झन्डै २० दिनसम्म स्वयम्भूस्थित ग्यारेजमा राखिएको र रंगरोगन गरिएको प्रहरीको भनाइ छ। लामाले प्रारम्भिक बयानमा ट्रक थानकोटमा लिएको र व्यापारीको निर्देशनअनुसार कपडा लिन रसुवागढी जान लागेको बताएका छन्।
उनको पृष्ठभूमि, सम्पर्क नेटवर्क र आर्थिक अवस्था केलाउने काम भइरहेको प्रहरी स्रोतले जनाएको छ।

