२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

परराष्ट्रमन्त्री राणाले भेटिन् युक्रेनी समकक्षी, यी हुन् चर्चाका विषय?

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुँदा यी दुई नेताबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल युक्रेन सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो। डा. राणाले युक्रेनी सैनिकको नियन्त्रणमा रहेका सात नेपाली नागरिकको रिहाइका लागि युक्रेन सरकारसँग आग्रह गर्नुभयो।

युक्रेनी विदेशमन्त्री सिबिहाले कानुनी प्रक्रिया पूरा गरेर ती सात नेपालीको रिहाइको प्रतिबद्धता जनाउनुभयो। डा. राणाले भने, नेपालमा कुनै नीति नभइ मानव तस्करी मार्फत नेपाली नागरिकलाई रुसी सेनामा भर्ना गरिएको थियो। युक्रेनी विदेशमन्त्रीसँग ती सात नेपालीको मुक्तिका लागि आग्रह गरिएको हो।

यसै गरी, नेपालले २०२७ देखि २०२९ सम्मको लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्य उम्मेदवारी दिएका कारण युक्रेन सरकारको सहयोगका लागि पनि आग्रह गरिएको छ।

अन्तिममा, सो भेटमा दुई देशकाबीच सरकारी एवं डिप्लोम्याटिक पासपोर्ट बाहकलाई निःशुल्क भिसासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस