२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

गाजामा इजरायली आक्रमण जारी : ४०० भन्दा बढीको मृत्यु, विपिन रिहाइको सम्भावना टर्‍यो

काठमाडौं । इजरायली आक्रमणमा धेरै बालबालिकासहित कम्तीमा ४०४ जना मारिएका छन्। भग्नावशेषमुनि अझै धेरै शव रहेको अनुमान स्वास्थ्य मन्त्रालयले गरेको छ, जसले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।

दुई हप्ताभन्दा बढी समयदेखि गाजामा पूर्ण सहायता नाकाबन्दी लगाएको इजरायलले थप जबरजस्ती विस्थापन आदेश जारी गरेको छ। आक्रमणप्रति विश्वव्यापी आलोचना भइरहँदा, हमासले इजरायलले घेराबन्दीमा परेका निर्दोष नागरिकहरूमाथि “विश्वासघाती” आक्रमण गरेको आरोप लगाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम लम्ब्याउने वार्ता असफल भएपछि आक्रमणको आदेश दिएको बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४८,५७७ प्यालेस्टिनी मारिएका छन् भने १,१२,०४१ जना घाइते भएका छन्। गाजाको सरकारी मिडिया कार्यालयले मृतकको संख्या ६१,७०० भन्दा बढी पुगेको दाबी गर्दै हजारौं अझै भग्नावशेषमुनि रहेको जनाएको छ।

यसबीच, हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको रिहाइको सम्भावना समाप्त भएको छ। युद्धविराम अवधिमा वार्ता हुँदै आएको भए पनि, नयाँ आक्रमणपछि विपिनको रिहाइ अनिश्चित बनेको छ।

इजरायली सेनाले गाजामा आक्रमण जारी रहेको बताएको छ। सीमित स्रोतसाधनका कारण गाजाका अस्पतालहरूमा घाइतेहरूको उपचार गर्न कठिनाइ भइरहेको छ। इजरायली आक्रमणको मध्य पूर्व र युरोपभरि व्यापक निन्दा भइरहेको छ। माल्टाका प्रधानमन्त्रीले यसलाई “बर्बर” भनेका छन्। तर अमेरिका भने इजरायलको पक्षमा उभिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस