२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अमेरिकी अदालतबाट मस्कलाई झट्का, युएसएड बन्द गर्ने योजना रोकियो

Elon Musk

काठमाडौं । एक संघीय न्यायाधीशले एलोन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज)’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) बन्द गर्ने कार्य रोक्न मंगलबार आदेश दिएका छन्।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डोजले युएसएडलाई विघटन गर्नु अमेरिकी संविधानको उल्लङ्घन हुनसक्ने बताउनुभयो। राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय खर्च र रोजगारी कटौती योजनाअन्तर्गत युएसएडका कर्मचारी र ठेकेदारहरूले दायर गरेको मुद्दामा चुआङले यो आदेश दिनुभएको हो।

न्यायाधीश चुआङले संविधानको ‘नियुक्ति खण्ड’ अन्तर्गत मस्कको अधिकार प्रयोगका लागि सिनेटको अनुमतिका बारेमा टिप्पणी गर्दै, मस्कलाई सरकारले अत्यधिक शक्ति प्रयोग गर्न अनुमति दिने कुरा संविधानका सिद्धान्तसँग मेल नखाने चेतावनी दिनुभयो।

यसअघि, विदेशमन्त्री मार्को रुबियोले युएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने घोषणा गरेका थिए, जसका कारण विश्वभरका १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रमहरू प्रभावित हुने जनाइएको थियो।

यो फैसला ट्रम्प प्रशासनको सरकारी खर्च र कर्मचारी कटौती योजनाका लागि अर्को कानूनी चुनौती हो।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस