२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

भोलिदेखि जापानसहित देशभर एकैसाथ एसईई परीक्षा, सबैलाई शुभकामना!

काठमाडौं । देशभरका २,०७९ परीक्षा केन्द्रबाट बिहीबार बिहान ८ बजेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले चैत ७ गतेदेखि सुरु हुने परीक्षाका लागि आवश्यक सबै सामग्री जिल्लाहरूमा पठाइसकिएको जानकारी दिँदै विद्यार्थीहरूलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरे। यस वर्ष एसईई परीक्षामा ५,१४,०७१ जना विद्यार्थी सहभागी हुँदैछन्, जुन गत वर्षको तुलनामा ४९,२८६ ले बढी हो।

सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। प्रत्येक परीक्षा केन्द्रमा १५० परीक्षार्थीसम्म एक सहायक केन्द्राध्यक्ष रहनेछ भने २० विद्यार्थी बराबर एक निरीक्षक खटाइनेछ। जापान, केन्द्रीय कारागार, बालसुधार गृह, र दैलेखका कारागारहरूबाट पनि विद्यार्थीहरूले परीक्षा दिने व्यवस्था गरिएको छ।

यस वर्ष एसईई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा नतिजा असार ७ गतेभित्र प्रकाशित गर्ने लक्ष्य राखिएको छ, जसमा उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने योजना बोर्डले बनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस