२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

आजपाले ‘तेस्रो जनआन्दोलन’ गर्ने, कमान्डर तोकिँदै

७ चैत्र, काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरेको छ । ओली नेतृत्वको सरकार र वर्तमान संविधान असफल भएको निष्कर्ष निकाल्दै देशलाई निकास दिन अन्तरिम सरकार गठन गरिनुपर्ने माग आजपाले गरेको हो ।
आजपा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौँमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीसहित बहुमत मन्त्री कार्यसम्पादन मूल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भइसकेको जिकिर गर्दै नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

‘वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरू नकारात्मक बनेको, वैदेशिक कूटनीतिक सम्बन्धहरू अवरुद्ध भएको, कार्यसम्पादन मूल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, सरकार आफैँ जनस्तरबाट अस्वीकृत भएको र सेवा प्रवाह, सुशासन एवं विकासका कामहरू गतिहीन भएकाले हरेक हिसाबले कमजोर एवं असफल सिद्ध भइसकेको सरकार तथा वर्तमान व्यवस्थाबाट ठोस निकास सम्भव नरहेको ठहरसहित प्रधानमन्त्रीलाई तत्काल नैतिकताका आधारमा राजीनामा गरी अन्तरिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकारसँग माग गरेको छ’, बैठकपश्चात् आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसैगरी बैठकले दलाल दलतन्त्र र अहिलेको व्यवस्था खारेजका लागि आजपाद्वारा पूर्वघोषित तेस्रो जनआन्दोलन सफल बनाउन कमान्डर तोकेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस