२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

नेपाली सेनाको भूमिकाबारे रक्षामन्त्रीको बयान चर्चामा

काठमाडौं। रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले इतिहासको हरेक कालखण्डमा देश, जनता र सरकारप्रति जिम्मेवार भएर काम गरेको बताएका छन्। उनले सेनाले सडकसहितका पूर्वाधार निर्माणको जिम्मेवारी आफैंले नमागेको, बरु सरकारले खटाएको स्पष्ट पारे। ‘सरकारको निर्देशन उल्लंघन गरेको इतिहास छैन,’ उनले भने।

मन्त्री राईले सेनाले संवैधानिक दायरामा बसेर सरकारको आदेश पालना गरेको र जोखिमपूर्ण क्षेत्रमा समेत सडक निर्माणजस्ता काम गरेको उदाहरण दिए। ‘गोरखाको माथिल्लो भेगदेखि किमाथाङ्कासम्म सेनाले ठेकेदारले गर्न नसकेका काम गरिरहेको छ,’ उनले थपे। सुनकोशीको बेलिब्रिज र हुम्लाको खार्पुनाथमा पनि सेनाको योगदान रहेको उनको भनाइ छ।

उनले सेनालाई व्यापारमा लागेको भन्ने आरोपको खण्डन गर्दै भने, ‘सेना देश र जनताको हितमा सरकारको निर्देशन पालना गरिरहेको छ।’ काठमाडौं–तराई द्रुतमार्गको प्रगतिबारे उनले मुआब्जा र स्थानीय समस्याको समाधान गर्दै तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

बजेट अभावले आयोजना नरोकिएको पनि उनले प्रष्ट पारे।मन्त्री राईले सेनाको व्यावसायिकीकरणका लागि स्वदेशमै विस्फोटक पदार्थ, खरखजाना र लत्ताकपडा उत्पादनको प्रयास भइरहेको र ब्यारेक सुधारमा ध्यान दिइएको जानकारी दिए। ‘सीमित स्रोतमा पनि सेनाले विश्वशान्ति र विपद् व्यवस्थापनमा उत्कृष्ट काम गरेको छ,’ उनले भने।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस