२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

३० वर्षको उमेरमा क्यान्सरबाट पत्रकार संगिताको असामयिक निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगिता बानियाँको आज बिहान २:४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको छ। ब्रेन क्यान्सरबाट पीडित बानियाँको उपचार चलिरहेको अवस्थामा निधन भएको उनका परिवारले जानकारी दिएको छ।

आर्थिक समस्याका कारण केही समयदेखि सहयोग संकलन अभियान चलाइएको थियो। दुई वर्षअघि स्तन क्यान्सरबाट उपचार गराएर निको भएकी बानियाँलाई पछि ब्रेन क्यान्सरको पीडा थियो। उनले लामो समयदेखि शिवशक्ति रेडियोमा कार्य गर्दै आएकी थिइन्।

निधनमा शोक व्यक्त
नेपाल पत्रकार महासंघले पत्रकार संगिता बानियाँको ३० वर्षको अल्पायुमै भएको असामयिक निधनको खबरले स्तब्ध र दुःखी भएको छ। महासंघले स्वर्गीय बानियाँको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले शोक सन्देशमा भने, “पत्रकार बानियाँको निधनले नेपाली पत्रकारिता क्षेत्रमा एक कुशल र जुझारु महिला पत्रकार गुमाएको छ।” साथै, उनले शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस