काठमाडौं। भारतको बेंगलुरुमा एक इन्जिनियर श्रीमान्ले आफ्नी श्रीमतीको अस्वाभाविक माग र दुर्व्यवहारका कारण प्रहरीसम्म पुगेर गुहार मागेका छन्। उनीहरूको २०२२ अगस्टमा विवाह भएको थियो, तर विवाहको पहिलो रातदेखि नै श्रीमतीले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेकी थिइन्। श्रीमान्का अनुसार, श्रीमतीले सन्तान नचाहेको र सुरक्षित शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्दा समस्या सुरु भएको थियो।
श्रीमान्ले आरोप लगाएका छन् कि श्रीमतीले एक रात शारीरिक सम्बन्ध राखेबापत ८ हजार नेपाली रुपैयाँ (भारतीय रुपैयाँ ५ हजार बराबर) माग गरेकी थिइन्, जसले तनाव चुलिएको हो। उनले थप भने कि श्रीमतीले उनको काममा हस्तक्षेप गरी घरबाटै काम गर्दा अफिसको बैठकमा नाच्ने, चर्को स्वरले चिच्याउने र झगडा गर्ने गरेको कारण उनको जागिर गुमेको छ।
सम्बन्धविच्छेदको प्रक्रियामा प्रवेश गर्दा श्रीमतीले सहमतिमा सम्बन्धविच्छेदका लागि ४५ लाख भारतीय रुपैयाँ (लगभग ७२ लाख नेपाली रुपैयाँ) माग गरेको श्रीमान्को आरोप छ। उनले श्रीमतीले आफूलाई ब्ल्याकमेल गरेको, आत्महत्या गर्ने धम्की दिएको, कुटपिट गरेको र गोप्य अंगमा प्रहार गरी मार्ने प्रयास गरेको समेत बताएका छन्। श्रीमान्ले आफ्नी श्रीमतीको परिवारले घर किन्न ठूलो रकम मागेको र अस्वीकार गर्दा दुर्व्यवहार बढेको पनि दाबी गरेका छन्। बेंगलुरु प्रहरीले यो मामिलामा श्रीमतीसँग सोधपुछ गरिसकेको छ। श्रीमतीले प्रहरीलाई श्रीमान्सँगको विचार नमिलेकाले उनीसँग बस्न नचाहेको बताइन्।

