काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्न निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। चुनावी अभियानकै क्रममा उनले विभाग बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
हस्ताक्षरपछि ट्रम्पले भने, ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं।’ तर, अपाङ्गता भएका बालबालिकाका लागि अनुदान तथा कोष जस्ता कार्यक्रमहरू अन्य एजेन्सीहरूलाई हस्तान्तरण गरिनेछ।
शिक्षा विभागले यसलाई ‘ऐतिहासिक’ निर्णय भन्दै संसद र राज्यहरूसँग मिलेर नोकरशाही हटाउने बताएको छ। तर, अमेरिकी शिक्षा परिषद्का अध्यक्ष टेड मिचेलले यसलाई ‘राजनीतिक नाटक’ भन्दै उच्च शिक्षामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।
शिक्षा विभाग खारेज गर्न कठिनाइ
विशेषज्ञहरूका अनुसार यो निर्णय कार्यान्वयन गर्न सिनेटमा ६० मत आवश्यक छ, तर ट्रम्पको रिपब्लिकन पार्टीसँग केवल ५३ सिट छन्। गत वर्ष पनि यस्तो प्रयास असफल भएको थियो।
४५ वर्षमा ३ ट्रिलियन डलर खर्च
शिक्षा विभाग १९७९ मा स्थापना भएको थियो। ह्वाइट हाउसका अनुसार, ४० वर्षमा ठूलो खर्च भए पनि शिक्षा सुधार हुन सकेको छैन।
विशेषज्ञहरूका अनुसार, संघीय अनुगमन हटाउँदा विद्यालयहरूबीच असमानता बढ्न सक्छ। तर, ट्रम्प समर्थकहरू स्थानीय नियन्त्रण प्रभावकारी हुने दाबी गर्छन्।

