२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कुलमानसँग निहुँ खोज्ने उर्जामन्त्रीलाई भ्रष्टाचारमा लिप्त भन्दै प्रचण्डले लगाएको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त व्यक्तिलाई वर्तमान सरकारले ऊर्जामन्त्री नियुक्ति गरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री नेपाली कांग्रेसका नेता दीपक खड्का छन्। प्रचण्डले खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप गर्दै शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियानको सभामा तीव्र आलोचना गरेका हुन्।

प्रचण्डले भने, ‘राष्ट्रपतिले स्वास्थ्यसम्बन्धी ज्ञान भएका व्यक्तिलाई स्वास्थ्य मन्त्री बनाउनु पर्छ, शिक्षामन्त्रीमा शिक्षासम्बन्धी राम्रो ज्ञान भएका व्यक्ति हुनुपर्छ। अहिले के भएको छ भने, सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त व्यक्तिलाई ऊर्जामन्त्री बनाइएको छ।’ उनले यसरी भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई सम्मान दिने कार्यलाई आलोचना गरे।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको भन्दै भने, ‘यदि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था भयो भने, विश्वविद्यालयका प्राध्यापकहरू मन्त्री बन्नेछन् र त्यसले देशमा स्थिरता, विकास र भ्रष्टाचारको अन्त्य गर्नेछ।’

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस