२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

पुर्खाको थलो गोरखाबाट पूर्वराजाले राजावादीसहित सबैलाई दिएको स्पष्ट सन्देश के हो?

पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा भ्रमण क्रममा देशवासीको सुख र समृद्धिको कामना गरेका छन्। शनिबार गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पूजाअर्चना गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशमा शान्ति र समृद्धिको कामना व्यक्त गरेका हुन्।

शाहले भने, ‘अहिले देशमा शान्ति चाहिएको छ। कसैले पनि कसैको कुभलो चिताउन नहुने र भलो चिताउनु पर्ने हो।’

गोरखा आउन पाएकोमा खुशी व्यक्त गर्दै शाहले यो स्थानलाई आफ्ना पुर्खाको थलो भनेका छन्। ‘गोरखा आएर मलाई खुसी लाग्यो। यो मेरो जन्मथलो होइन, तर पुर्खाको थलो हो,’ उनले भने।

उनीले देशमा कोही पनि केही गर्न डराउनु नपर्ने र देशको शान्ति र सुख कायम रहोस् भन्ने आशा व्यक्त गरे। ‘देशमा सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ शाहले भने।

गोरखनाथ मन्दिरमा पूजाअर्चना पछि, शाहले गोरखनाथको आशीर्वादका बारेमा पनि चर्चा गर्दै पुराना समयका शाहवंशीय राजाहरूको विजयमा गोरखनाथको विशेष भूमिका रहेको बताए।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस