काठमाडौं । प्रहरीको विशेष अनुसन्धान टोलीले आपराधिक लाभ (एक्सटर्सन) लिन खोज्ने अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। सर्लाही धनकौल गाउँपालिका–२ स्थायी घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीमाथि योजनाबद्ध रूपमा धाक-धम्की दिँदै अपहरणको डर देखाएर रकम असुल्ने प्रयास गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गुप्ताले आर्थिक लाभ लिने उद्देश्यले अवैध रूपमा डर त्रास सिर्जना गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

