२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष नै चिसो खोरमा : यज्ञको नाममा घर भत्काउनेलाई के-के हुन्छ सजाय ?

१० चैत्र , काठमाण्डौँ । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि आइतबार सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो । शुक्रबार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट आवश्यक अनुसन्धानको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीय दीपक मलिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ ।

घटनामा संवेदनशील नभएको भन्दै गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार नै मन्त्रालय तानिसकेको छ । यसैगरी राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाको अनुसन्धान अगाडि बढाएका छन् ।

घटनामा संलग्न बजरंगी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस