१० चैत्र, काठमाण्डौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटल अनुगमन गरेका छन् । केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले अनुगमन थालेका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीसँगै मुख्यमन्त्री सिंहले जनकपुरस्थित होटल जानकी भ्यू, हंसराज स्विट, लक्ष्मी मिष्ठान्न भण्डार र रघुपति मिष्ठान्न भण्डारको अनुगमन गरेका हुन् ।
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताएका छन्। होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने उनको भनाइ छ ।
अनुगमनका क्रममा अधिकांश होटललाई मापदण्डअनुसार भान्साकोठा सफा तथा व्यवस्थित राख्न निर्देशन दिइएको छ । हंसराज स्विटबाट उत्पादकको नाम, उत्पादन तथा म्याद गुज्रिने मिति नभएका ११ प्याकेट मम जफत गरी नष्ट गरिएको छ भने न्यू जानकी भ्यू होटलबाट दुर्गन्धित एक बाल्टिन तरकारी र कीरा परेको दाल तथा खुला ठाउँमा राखिएको तरकारी र लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको दस किलो मैदा जफत गरी नष्ट गरिएको छ ।

