काठमाडौं । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारी निर्णयको खुलेर विरोध गरेका छन्।
गगन थापाले सरकारको निर्णयलाई आलोचना गर्दै भने, “जनताको असन्तुष्टि र सरकारको डेलिभरीलाई सम्बोधन गर्नुपर्ने बेला सरकारले उल्टो निर्णय लियो। यस्तो निर्णयले मात्र असन्तुष्टिको आगो बढाउँछ।” उनले सरकारलाई चेतावनी दिँदै भने, “प्रधानमन्त्रीले मन्त्रीहरूको निर्णयलाई समाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन।”
त्यस्तै, महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयप्रति असहमति जनाउँदै भने, “कुलमान घिसिङलाई हटाउने निर्णय काँग्रेसका पदाधिकारीहरूको सहमतिबिना गरिएको हो, यो गलत छ। सरकारले समयोचित निर्णय नगरी गलत मार्ग अपनाएको छ।”
कांग्रेसका महामन्त्रीहरूले यस निर्णयलाई पुनः विचार गर्न र कुलमानलाई बाँकी कार्यकाल पूरा गर्न दिने पक्षमा रहेर सरकारको आलोचना गरेका छन्।


