काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा विभिन्न वडामा स्वास्थ्य केन्द्र, डिप बोरिङ र डिप बोरिङ हाउस निर्माणको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।
अनुसारका अनुसार ठेक्का आह्वान र बोलपत्र स्वीकृत सम्बन्धी सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी प्रावधान विपरीत जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष वृजकुमार यादव र छैठौं तहका अधिकृत सुमन कुमार पुरीसँग मिलेमतो गरी सूचना सार्वजनिक नगरिएको पाइएको छ। बरु, बटेश्वर गाउँपालिकाको ठेक्का कार्यालयमा मात्र अभिलेखका लागि सूचना प्रकाशन गरी जनकपुर टुडे मिडिया ग्रुपलाई ६ लाख ४४ हजार १ सय रुपैयाँ भुक्तानी दिइएको आयोगको दाबी छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आयोगले सोही रकम बराबरको बिगो कायम गर्दै दोषीहरूमाथि कैद र जरिवाना सजायको मागसहित मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

