२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

प्रतिगामी शक्तिको मुकाबिला गर्न तयार रहन युवा संघलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलामा सम्बोधन गर्दै उनले युवाहरूलाई प्रतिगामी शक्तिसँग सशक्त रूपमा मुकाबिला गर्न आग्रह गरे। ‘हामीले ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन। देशलाई अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघझैँ झम्टिन्छ,’ उनले भने।

ओलीले स्वयंसेवक अभियानलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने भन्दै यसलाई युथ फोर्स जस्तै स्थायी निसस्त्र टोली बनाउनुपर्ने बताए।

सरकारले कर्मचारी हटाउँदा आलोचना गर्नेहरूलाई लक्षित गर्दै उनले ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो, एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सकियो,’ भने।

चैत १८ भित्र अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्नुपर्ने अवस्थामा विपक्षी दलले अवरोध गरेकोमा उनले आपत्ति जनाए। ‘यति हल्का र उत्ताउलो नहुनुस्। हामी न मात्तिन्छौँ, न आत्तिन्छौँ, धैर्यपूर्वक अगाडि बढ्छौँ,’ उनले भने।

कार्यक्रममा महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेताहरूले पनि मन्तव्य दिएका थिए।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस