२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौँमा भोलि दुई पक्षको शक्ति प्रदर्शन : मुठभेड रोक्न यस्तो छ सुरक्षा तयारी?

काठमाडौँ। शुक्रबार प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थक समूहले प्रदर्शन गर्ने तयारी गरेका छन्। समाजवादी मोर्चामा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्नेछन्।

पूर्वराजा समर्थक समूह ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा प्रदर्शन गर्दै छन्, जुन मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समन्वय गरेका छन्। नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि यो प्रदर्शनमा सामेल हुने संकेत छ।

सुरक्षा व्यवस्थापनको लागि कडा कदम चालिएको छ। उपत्यका प्रहरी कार्यालयले प्रदर्शन स्थल प्रदर्शनीमार्ग र तीनकुने क्षेत्रमा ३,५०० प्रहरी तैनात गर्ने योजना बनाएको छ। वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीको नेतृत्वमा सुरक्षा व्यवस्थापन गरिनेछ।

पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्र जुलुस निकाल्न दिइने सुरक्षा रणनीति अनुसार भक्तपुरबाट आउने समर्थक तीनकुनेमा रोकिनेछन्, जबकि समाजवादी मोर्चाका समर्थकलाई कोटेश्वरबाट बालकुमारी हुँदै रुट डाइभर्सन गरेर प्रदर्शनीमार्गतर्फ पठाइनेछ।

प्रदर्शनको समयमा अवैध गतिविधि नियन्त्रण गर्न सादा पोसाकमा पनि प्रहरी परिचालन गर्ने योजना गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस