२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

अति प्रज्जवनशील २५ टन तेल भएको भवनमै सल्कियो आगो, जडीबुटीमा विस्फोटको जोखिम

काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा आगो सल्किएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा सल्किन पुगेको छ ।

‘हावाशुद्धीकरण राखेर औषधि बनाउनुपर्ने हुन्छ । हामी हाते प्रविधिबाट मेसिन प्रविधिमा गएका थियौं,’ यादवले भनिन्, ‘सञ्चो बनाउने भवनमा पनि ठूलो परिमाणमा तेल छ । भवनसँगै जोडिएको अर्को भवनमा तेलको स्टोर गरेर राखिएको छ ।’

करिब ३० मिनेट अगाडी दमकल आए पनि आगो नियन्त्रणमा नआएको उनले जानकारी दिइन् । सँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको उनले बताइन् । ‘स्टोरमा आगो लाग्यो भने ठूलो विस्फोट हुनसक्छ,’ यादवले भनिन्, ‘तेल राखिएको भवनमा आगो सल्कियो सबै शक्ति लगाएर निभाउँनै पर्छ । त्यसो नभए जडीबुटी क्षेत्रको ध्वस्त हुनसक्छ ।’

दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी अगजानी गरेका थिए । यादवका अनुसार अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका बाहिरबाट अचानक ढुंगामुढा सुरु भएको थियो । भवनको सिसा फुटाउन थालेपछि कर्मचारी ज्यान जोगाउन पछाडीको बाटो भएर भागेका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस