काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा सञ्चो उत्पादन गर्ने भवनमा सल्किएको आगो नियन्त्रणमा आएको छ । योसँगै ठूलो विस्फोटको डर टरेको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार, कार्यालयको मुख्य भवनमा सुरु भएको आगजनी सञ्चो उत्पादन गर्ने भवनमा समेत सल्किन पुगेको थियो । त्यहाँ २५ टन तेल थियो । तेलको भण्डार थियो । त्यहाँ सल्किन पुगेको थियो भने ठूलो विस्फोट हुन्थ्यो ।
‘अहिले आगो नियन्त्रणमा आएको जानकारी सुरक्षागार्डबाट पाएको छु,’ यादवले भनिन्, ‘ठूलो विस्फोट हुनबाट जोगियो । उनका अनुसार कम्पनीको मुख्य कार्यालय भवन र सञ्चो उत्पादन गर्ने भवन पूर्णरुपमा जलेको छ ।’
‘क्षतिको विवरण आइसकेको छैन । सञ्चो उत्पादन गर्न राखिएको तेलको स्टोर बचाउन सफल भयौं,’ यादवले भनिन् । उनका अनुसार भवनमा ‘सञ्चो’ उत्पादन गर्न २५ टन तेल राखिएको थियो ।
दुर्गा प्रसाईं नेतृत्वको भएको आन्दोलनकारीले पार्किङमा रहेका सुरुमा आधा दर्जन गाडी अगजानी गरेका थिए । यादवका अनुसार अफिसका कर्मचारीभित्र बसेर काम गरिहेका बाहिरबाट अचानक ढुंगामुढा सुरु भएको थियो । भवनको सिसा फुटाउन थालेपछि कर्मचारी ज्यान जोगाउन पछाडीको बाटो भएर भागेका थिए ।

