काठमाडौं। काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने निर्णय गरेको छ। महानगरले निर्मल निवासलाई यस सम्बन्धमा पत्र लेख्ने तयारी गरिरहेको छ। यो जानकारी पूर्वराजाको सचिवालयका एक सदस्यले नेपालखबरसँग सेयर गरेका छन्।
दुर्गा प्रसाईंको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा भएको प्रदर्शनलाई लिएर महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को टोलीले मुख्य जिम्मेवारी निर्मल निवासको भएको निष्कर्ष निकालेको छ। ‘जरिवाना कसलाई तिराउने भन्ने छलफलपछि निर्मल निवासमै पत्र पठाउने टुंगो लागेको छ,’ ती सदस्यले भने।
ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने उद्देश्यले शुक्रबार भएको प्रदर्शन अराजक बनेको थियो। प्रदर्शनकारीले निजी घर, सरकारी गाडीमा आगजनी गर्नुका साथै तोडफोड गरेका थिए। महानगरले आफ्नो अधिकारक्षेत्रको सम्पत्तिमा भएको क्षति मूल्यांकन गर्न शुक्रबार र शनिबार टोली खटाएको थियो।
शनिबार बिहानैदेखि प्राविधिक टोलीले तीनकुने क्षेत्रमा पुगी क्षतिको विवरण संकलन गरेको छ। अहिलेसम्म करिब दश लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ, तर अन्तिम विवरण तयार नभइसकेकाले रकममा केही थपघट हुन सक्ने महानगरले जनाएको छ।

