काठमाडौं । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा बसेका विदेशी पर्यटकले अन्ततः उक्त स्थान छाडेका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीले फागुन ८ गते २४ घण्टाभित्र जङ्गल खाली गर्न निर्देशन दिए पनि उनीहरू २८ दिन बसेर शुक्रबार मात्र गएका हुन्। भारत, अमेरिका, चीन, जापानलगायतका देशका करिब १५० जना विदेशी नागरिक अस्वाभाविक गतिविधि गरिरहेको गुनासोपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल नेतृत्वको टोलीले अनुगमन गर्दै स्थान खाली गर्न निर्देशन दिएको थियो।
विदेशी पर्यटकले पर्यटन भिसामा आएको र कुनै अवाञ्छित गतिविधि नगरेको दाबी गर्दै २८ दिनपछि मात्र जाने बताए। प्रहरी टोलीले ठाउँ खाली गराउन खोजे पनि उनीहरूले स्वेच्छाले छाड्ने बताएपछि हस्तक्षेप गरिएको थिएन।
नगरप्रमुख खड्कबहादुर रावतका अनुसार विदेशीहरू बस्दा समुदायलाई असर पर्ने कुनै गतिविधि भएको देखिएन। रेन्बो फ्यामिली स्वतन्त्र, प्राकृतिक जीवनशैली अपनाउने समूह हो, जसको सुरुवात सन् १९७० मा अमेरिकाबाट भएको थियो।
नेपालमा यसअघि अछामको रामारोशन र गुल्मीमा पनि यसको जमघट भइसकेको छ। पर्यटन व्यवसायी डबल शाहले सन् २०२५ मा रेन्बो फ्यामिलीलाई घोडाघोडी ल्याउन पहल गरेका थिए। शाहकै पहलमा सांस्कृतिक आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।

