काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्नको लागि सामाजिक सञ्जालमा #ArrestGyanendra अभियान चलाइएको छ। शनिबारदेखि विभिन्न सामाजिक सञ्जालका माध्यमहरूमा पोस्ट गर्दै प्रयोगकर्ताहरूले शाहलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन्।
यो अभियान तीनकुनेमा शुक्रबार भएको राजावादी प्रदर्शनको हिंसात्मक घटनामा आधारित छ, जसमा दुईजनाले ज्यान गुमाएका थिए। साथै, थुप्रै घाइते भएका थिए र विभिन्न घर, व्यापारिक प्रतिष्ठान, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय र दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।
प्रदर्शनलाई हिंसात्मक बनाउन भिडलाई उक्साएको र तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा पूर्वराजा शाहलाई पक्राउ गर्न सर्वसाधारणले दबाब दिएका छन्। उनीहरूले सरकारसँग शाहलाई यस अपराधबाट उन्मुक्ति नदिन आग्रह गरेका छन्।
प्रदर्शनका हिंसात्मक गतिविधिहरूमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म एक सयभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको छ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा समेत पक्राउ परिसकेका छन्। आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबारदेखि नै खोजी गरिरहेको छ। प्रसाईं अहिले फरार छन्।

