काठमाडौं। राजावादी गतिविधि तीव्र बन्दै गएको बेला नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले शान्ति सुरक्षा कायम राख्न कडा निर्देशन दिएका छन्।
शनिबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित बैठकमा आईजीपी थापाले जस्तोसुकै परिस्थितिमा पनि शान्ति सुव्यवस्था कायम राख्न दृढ भएर अघि बढ्नुपर्ने बताए। उनले आपराधिक गतिविधि नियन्त्रण, शंकास्पद गतिविधिको निगरानी र आवश्यक परेमा कडा कदम चाल्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।
‘शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन। अपराध नियन्त्रण गर्न प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहनुपर्छ,’ आईजीपी थापाले भने। उनले स्रोतसाधनको अधिकतम उपयोग गरी प्रभावकारी प्रहरी परिचालन गर्न आदेश दिए।
राजधानी काठमाडौंसहित देशभर राजावादी प्रदर्शनका गतिविधि बढ्दै गएका बेला प्रहरीले अवैध हातहतियार ओसारपसार, विस्फोटक पदार्थको तस्करी र हिंसात्मक गतिविधि रोक्न विशेष निगरानी बढाएको छ।
बैठकमा प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा कार्यालय, विशेष सुरक्षा गण तथा जिल्ला प्रहरी प्रमुखहरू भर्चुअल रूपमा सहभागी थिए। आईजीपी थापाले सुरक्षालाई थप प्रभावकारी बनाउन सबै प्रहरी इकाइहरूलाई समन्वय गर्दै अगाडि बढ्न निर्देशन दिए।

