२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

दुर्गा प्रसाईं रहस्यमय ‘गायब’: त्यसरी भाग्नुको कारण लाइभ आएर सबै खुलाए

Durga Prasai

काठमाडौं । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरी घेरा तोड्दै अगाडि बढेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफू भागेको नभई ज्यान जोगाउन बाध्य भएको दाबी गरेका छन्।

प्रदर्शनका क्रममा उनले प्रहरीको घेरालाई गाडीले पन्छाउँदै अघि बढेका थिए, जसका कारण उनी प्रहरीको खोजी सूचीमा परेका छन्। यद्यपि, प्रसाईंले आफू लुकेर नभई सुरक्षित स्थानमा बसेको मात्र बताएका छन्।

‘मेरो हत्या गर्ने योजना थियो
प्रसाईंले प्रहरी घेरा तोड्नुको कारण खुलाउँदै भने, ‘मेरो हत्या गर्ने योजना बनाइएको थाहा पाएपछि म सुरक्षाका लागि बाहिरिएँ।’ उनले आफू कुनै हालतमा भाग्न नजन्मिएको दाबी गर्दै भने, ‘म सुरक्षित ठाउँमा बसेको छु, तर म भागेको छैन। उनले खुलासा गरेअनुसार, ‘मेरो कानको छेउबाट गोली गयो, मेरै गाडीमा अश्रुग्यास हानिएपछि यस्तो स्थिति आयो।’

प्रहरीसँग माफी, तर…
केही समयदेखि फरार रहेका प्रसाईंले सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै प्रहरीसँग माफी समेत मागेका छन्। ‘म आफू सुरक्षित राख्न प्रहरीको घेरा तोड्न बाध्य भएँ। यो तपाईंहरूप्रति लक्षित दुष्मनी थिएन। प्रहरीले पाएको चोटप्रति माफी चाहन्छु,’ उनले भिडियोमा भनेका छन्।

तर, उनले आफूलाई प्रहरीको विरोधीको रूपमा नहेर्न आग्रह गर्दै थपे, ‘प्रहरी र दिनदुःखीलाई जति मैले माया गर्छु, त्यति अरू कसैले गर्दैन।’

काठमाडौंकै मन्दिरमा आश्रय
भागेका भनेर आरोप लागिरहेका प्रसाईंले आफू काठमाडौंमै रहेको दाबी गर्दै भने, ‘म अहिले पनि काठमाडौंमै छु, एउटा मन्दिरमा बसेको छु। तर, उनले कुन मन्दिरमा बसेका छन् भन्ने खुलाएका छैनन्।

अहिले के गर्दैछ प्रहरी ?
प्रसाईंलाई पक्राउ गर्न प्रहरी सक्रिय देखिएको छ। स्रोतहरूका अनुसार, उनलाई खोज्न विशेष टोली परिचालित गरिएको छ। यस घटनापछि नेपालमा राजनीतिक रूपमा ध्रुवीकरण बढेको देखिन्छ। समर्थकहरूले प्रसाईंको बचाउ गरिरहेका छन् भने विरोधीहरूले उनीमाथि कडा कारबाहीको माग गरिरहेका छन्। अब हेर्न बाँकी छ, प्रसाईं पक्राउ पर्छन् वा उनी सुरक्षित रहिरहन्छन् ?

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस