काठमाडौं। प्रजातन्त्र दिवसमा देश जोगाउन आह्वान गरेका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले मौन बसिरहेका छन्, तर तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनले उनलाई बेचैन बनाएको छ। प्रदर्शनमा उनी संलग्न रहेको आरोप लागे पनि उनले कुनै निर्देशन वा समिति नबनाएको निकटस्थ स्रोतले बताएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजालाई अर्को गल्ती गर्न नहुने चेतावनी दिइसकेका छन्। यद्यपि, ज्ञानेन्द्रले आन्दोलनमा संयमता गुमाएका व्यक्तिहरू (जस्तै दुर्गा प्रसाईं) ले आफूलाई विवादमा तान्ने काम गरेको भन्दै निकटस्थहरूसँग गुनासो पोख्ने गरेका छन्। उनले आन्दोलन समितिका व्यक्तिहरूलाई अप्ठ्यारो नबनाइदिन आग्रह गरिसकेका छन्।
पूर्वराजाका एक सहयोगीले भने, ‘राजाले कुनै निर्देशन दिएका छैनन्। उहाँलाई अनावश्यक विवादमा तान्ने षड्यन्त्र भएको हो।’ सरकारी पक्षबाटै यस्तो प्रयास भएको उनको दाबी छ। तीनकुनेको हिंसापछि सरकारले प्रजातन्त्रवादीमाथि निगरानी बढाएको छ। शुक्रबारदेखि आन्दोलन संयोजक नवराज सुवेदीलाई नजरबन्द गरिएको छ, र जगमान गुरुङलाई नेतृत्वको जिम्मेवारी दिइएको छ।

