काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई निषेध गरिएको छ। गणतन्त्र पक्षधर भनिएको सर्वदलीय बैठकमा राप्रपा र रास्वपा दुवैलाई नबोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
बर्तौलाले भने, ‘प्रधानमन्त्रीज्यूले बोलाउने भएको सर्वदलीय बैठकमा रास्वपा र राप्रपा दुवै दललाई बोलाइएको छैन। आवश्यक नभएर नै नबोलाइएको हो।’
शुक्रबार तीनकुनेमा राजावादीहरूको हिंसात्मक गतिविधि भएपछि प्रधानमन्त्री ओलीले गणतन्त्र पक्षधरहरूको बैठक बोलाएका थिए। राप्रपा राजावादी दल भएपनि, रास्वपा गणतन्त्र स्वीकार गर्ने दल हो। यद्यपि यी दुवै दल ओली सरकारप्रति संसद र सडकमा कडा रूपमा प्रस्तुत हुँदै आएका छन्।
महेश बर्तौलाले विपक्षी दलहरूको संसद सञ्चालनमा अवरोधको विषयमा असन्तुष्टि पनि व्यक्त गरे। उनले भने, ‘सरकारले ल्याएको पाँचवटा प्रतिस्थापन विधेयक सोमबार १२ बजेसम्म दुवै सदनबाट अनुमोदन हुनुपर्छ।’

